स्वस्थ जीवनको आधार : स्वस्थ दाँत, स्वच्छ मुख

स्वास्थ्य स–चेतना एवं उपचारका दृष्टिले धेरै पछि परेको हाम्रो जस्तो गरिब मुलुकमा मुख एवं दाँतको स्वास्थ्य गौण छ। दाँत तथा मुख दुखेर खप्नै नसक्ने नहुँदासम्म र गिजा सुन्निएर ज्वरो नफुट्दासम्म हाम्रो समाजमा बिरामी भएको मानिँदैन।

प्रायः नेपालीका दाँत २०–२२ वर्षको उमेरमै १–२ वटा र ४०–५० वर्षको उमेरमा ४–५ वटा झरिसकेको पाइन्छ। अझै झर्ने अवस्थामा वा धेरै हल्लिएका हुन्छन्। मुख गन्हाउने, दाँतबाट रगत आउने, दाँत किराले खाने जस्ता समस्या त सामान्य नै भए।
 
दन्त स्वास्थ्यका प्रमुख रोगहरुको कुरा गर्नुपर्दा दन्त सडन, दन्त हर्षा, पाइरिया, दाँत सिरिंग–सिरिंग गर्ने, श्वास गन्हाउने, गिजाबाट रगत आउने, बेरंगी दाँत, नमिलेका दाँत, मुखमा घाउ खटिरा र मुखमा विभिन्न रंग तथा दाग, धब्बा वा पत्र पर्छन्।

यी सामान्य रोगबाट उत्पन्न भएका जटिलता जस्तैः गिजा, गाला, चिउँडो सुन्निएको, मुख खोल्न नसकेको, पिनास भएको ट्युमर भएको, क्यान्सर भएको तथा दन्त अपांग वा थोते भएको त्यतिकै भेटिन्छन्।

अचेतना, गरिबीका कारण मात्र नभएर स्वास्थ्यप्रति गम्भीर नहुने आम नेपालीको प्रवृत्ति मुख स्वास्थ्य भयानक र जटिल बनाउनका लागि जिम्मेवार छ। किनभने मुखमा रहेका खानेकुरालाई जिवाणुले २० मिनटमै अम्ल बनाई दन्त सडन सुरु गराउँछ।

दाँतको सरसफाइ गर्दा ७५ प्रतिशत दन्तरोग कम गर्न सकिने हुँदाहुँदै पनि नरम ब्रस, फ्लोरिडेटेड मन्जन, दैनिक ६ मिनेट बिहान खाना खाएपछि र राति सुत्नुअगाडि २ पटक ब्रस गर्ने उचित तरिका नमिलेकै कारण आज पनि रुघाखोकीभन्दा दन्त सडन र हर्षा बढी भएको देखिन्छ।

विश्व स्वास्थ्य संगठन औद्योगिक राष्ट्रका बालबालिकामा ९० प्रतिशतसम्म दन्त सडन पाइएको बताउँछ। नेपालका ६५ देखि ७० प्रतिशत बालबालिका तथा ९० प्रतिशत वयस्कमा दन्त सडन छ। गाउँमा भन्दा सहरी बालबालिकामा दन्त सडन दोब्बर छ। दाँत गुमाउनुको प्रथम कारक दाँतमा किरा लाग्नु रहेकको छ।

आजकल मकै, भटमास, सागसब्जीको सट्टा गुलिया खानेकुरा सेवन बढ्दो छ। स्कुले बालबालिकालाई खाजा घरबाटै नपठाइदिने, बच्चा सुताउन स्तनपान तथा बोतल दूधको प्रयोग, जंकफुड, चाउचाउले दन्त सडन बढाएको छ। 

मुलुकमा २५ सय जना दन्त चिकित्सक, १ हजार हाइजिनिस्ट र ७५ जना दन्त प्राविधिक रहेका छन्। तथापि सरकारी सेवामा ५ दर्जन चिकित्सक र १ दर्जन हाइजिनिस्ट छन्। सरकारले दन्तचिकित्सालाई महत्व नदिएको र केन्द्रीय दन्त अस्पताल तथा जिल्लामा दन्तचिकित्सकको व्यवस्था हुन नसक्दा अधिकांश नेपाली दाँतसम्बन्धी रोगको पीडामा छन्।

वीर अस्पतालमा आरसिटी उपचारको सेवा पाउन चार महिना पर्खनुपर्छ। राष्ट्रिय स्वास्थ्य तथा मुख स्वास्थ्य नीतिको प्रभावकारी कार्यान्वयन हुन सकेको छैन भने मुखसम्बन्धी रोगका बारेमा चेतनाको अभाव र दन्तचिकित्सा सेवा, प्राविधिज्ञहरुको अपर्याप्तताका कारणले गैरडेन्टलबाट सेवा दिइँदा रोगीको संख्या र गम्भीर समस्या दिन प्रतिदिन बढिरहेका छन्।

हरेक स्थानीय तहमा दन्तचिकित्सक र स्वास्थ्यको तल्लो तहसम्म आधारभूत स्वास्थ्यमार्फत निःशुल्क दन्त सेवा र अन्य दन्तसेवा बिमाबाट दिने तथा रोकथामका कार्यक्रमहरु हरेक तहमा व्यापक रुपमा सञ्चालन गर्ने सोच छ।    

निजीलाई पनि सरकारको मार्गदर्शन, नीतिगत सहयोग र निरन्तर निगरानीको खाँचो छ। आम नागरिकमा भोक लागेको बेला खानेकुराको महत्व भएजस्तै खाना खाइसकेपछि ब्रस गर्नुलाई उति नै महत्व दिनुपर्छ भन्ने धारणा बनाउनु छ। नभुल्नका लागि दाँत सफा गर्ने नरम ब्रस, फ्लोरिडेटेड मन्जन र डेन्टल फ्लस अगाडि राखेर खाना खाने गर्नुपर्छ।

व्यस्तताका बीच पनि दाँतको सरसफाइ, नियन्त्रित खानेकुरा र नियमित स्वास्थ्य परीक्षण भुल्न हुँदैन। हरेक वर्ष मार्च २० का दिन विश्वभर मुख स्वास्थ्य दिवस मनाइँदै आएको छ। यस वर्ष अहा भन्नुहोस्, सोच्नुहोस् मुख, सोच्नुहोस् स्वास्थ्य मूल नाराका साथ मनाइँदैछ।

यस दिवसले हरेक सरोकारवालालाई जनचेतना जगाउन र महत्व तथा जटिलताबारे जानकारी दिई दन्तरोगीको संख्या, रोगको गाम्भीर्यतामा कमी ल्याउनेतर्फ सफलता प्रदान गर्न सकोस् भन्ने शुभकामना छ।

त्यसो त एकातिर मुखका अंगप्रत्यंग र दाँतमा देखिने समस्या वा रोगहरु मुखसँगै मात्र सम्बन्धित हुन सक्छन् भने अर्कोतिर शरीरका अंगप्रत्यंग वा प्रणालीसँग सम्बन्धित समस्या वा रोगहरुको प्रतिबिम्व मुखका अंग प्रत्यंगमा देखिएको हुनसक्छ। ती घाउ खटिरा शरीरका अंग प्रत्यंगमा रोग देखिनुभन्दा या त पहिले वा साथसाथै वा पछि देखिने भएकोले नै मुखलाई शरीरको ऐना पनि भनिन्छ।

मुखले शरीरका अंग प्रत्यंगमा लाग्नसक्ने वा लागेका विभिन्न प्राणघातक रोगहरुको पहिचान गर्न सहयोग पुर्‍याइरहेका ज्वलन्त उदाहरणहरु हामीकहाँ प्रसस्तै भेटिन्छन्। दादुरा आउने बेला २–४ दिन पहिले नै मुखमा कप्लिक स्पट देखिनु, एड्स रोगमा मुखमा कापोसिस सार्कोमा आउनु र मधुमेहीमा दाँत निकालेको घाउ र अन्य रोगहरु निको नहुनु यसका उदाहरण हुन्। 

शरीरमा देखिने रोगको परिसूचकको रुपमा अर्थात् शरीरमा रोग देखिनुभन्दा पहिले नै मुखमा समस्या देखिन पनि सक्छ। केहीमा शरीरमा र मुखमा लक्षण तथा चिह्नहरु साथसाथै देखिने गर्दछन्। जस्तै मधुमेहीमा फलफूलको गन्ध, रक्तअल्पतामा मुख र जिब्रोको सुजन हुने गर्छ।

यसरी अन्य रोगको निदान गर्न मुखमा आएका घाउखटिरा र रोगले सहयोग पुर्‍याउँछन्। केहीमा प्रणालीका रोगद्वारा जटिलता उत्पन्न भएर मुखमा समस्या देखिन सक्छन्। जस्तै कलेजोको रोगमा गिजाबाट रगत आउने, बिग्रेको अन्डाको गन्ध आउने हुन्छ। 

दन्त स्वास्थ्य भन्नाले दाँतको मात्र स्वास्थ्य नभएर मुखको स्वास्थ्य पनि हो। मुख र यस वरपरको अंग–प्रत्यंगको सम्पूर्ण स्वास्थ्य नै दन्त स्वास्थ्य हो। दन्त स्वास्थ्यमा दाँत, गिजा, ओठ, दाँत बस्ने घरहरु, हड्डी, च्यापु, जिब्रो, जिब्रो मुनिको भाग, दाँत र गाला वा ओठ बीचको भाग र मुख खोल्न वा बन्द गर्न प्रयोग गरिने जोर्नी आदि पर्छन्।

यससँग सम्बन्धित नशा, शिराधमनी, विकास, रोग, बनावट इत्यादि प्रत्यक्ष रुपमा दन्त चिकित्सा क्षेत्रमा पर्छन् भने परोक्ष रुपमा शरीरको सम्पूर्ण अंग–प्रत्यंग प्रणालीहरुको स्वास्थ्य पर्छ।

मुखको समस्याको उचित निदान र उपचारले शरीरका अन्य प्रणालीका रोग, स्वास्थ्यलाई समेत निदान, निराकरण र उपचार हुने गर्छ। जस्तैः गिजासम्बन्धी रोग नभएका मधुमेहीलाई खानेकुरामा परहेज र व्यायामले मात्र पनि चिनी नियन्त्रण हुन सक्छ। औषधि सेवन गर्नु परेमा पनि कम मात्राले पुग्छ। 

समयको महत्व 
समयमै ध्यान नदिंदा दाँत तथा मुखका सामान्य रोगहरु तथा समस्याले पनि धेरै जटिलता उत्पन्न गरी अंगभंग हुनुका साथै मृत्युवरण गर्नुपर्ने पनि हुन सक्छ। जति समय ढिलो भयो, त्यति नै उपचारको प्रक्रिया लामो हुने, जटिल हुने, निर्मूल गर्न नसकिने हुनुका साथै महँगो पनि पर्न जान्छ। 

दाँत किराले खाने, दन्तहर्षा र पाइरिया जस्ता सामान्य रोगबाट स्पेस संक्रमण हुन गई पछि गएर खाद्यनली र सास फेर्ने नली थिचिन गई सास फेर्न नसकी मर्न सकिन्छ। साथै सेलुलाइटिस, पिनास र दिमागमा क्याभरनस साइनस थ्रोम्बोसिससम्म हुन सक्छ।

गिजा तथा मुखसम्बन्धी रोग भएका व्यक्तिमा अन्य सामान्य स्वस्थ व्यक्तिका तुलनामा श्वासप्रश्वाससम्बन्धी रोग, मुटुसम्बन्धी रोग, बाथज्वरो, अनियन्त्रित मधुमेह, हड्डी कमजोर हुने, हृदयघात, मस्तिष्कघात हुने सम्भावना बढी हुन्छ।

गर्भवती महिला भए समयभन्दा पहिले नै बच्चा जन्मने र शारीरिक तथा मानसिक रुपले कमजोर बच्चा हुने सम्भावना रहन्छ। धारिला, नमिलेका दाँत, लामो समयसम्मको घाउखटिरा, फोहर साथै सूर्तिजन्य पदार्थ, सुपारीजन्य पदार्थको सेवन लगातार र लामो समयसम्म भएमा मुखको क्यान्सर हुनसक्छ। 

रोग लागिसकेपछि उपचार गर्नुभन्दा रोग लाग्न नै नदिनु उत्तम तथा उचित हुन्छ। त्यसकारण आत्महत्या गर्नसक्नेसम्मको दुखाइबाट मुक्त रहन, महँगो उपचारबाट राहत पाउन, मुखको रोेगका कारणबाट शरीरका प्रणालीमा लाग्नसक्ने विभिन्न रोगबाट ग्रसित नहुन प्रणालीमा भएका रोगहरूलाई निको पार्न, साथै औषधिको आवश्यकता कम गर्न लगायत दाँत तथा मुखका अंग प्रत्यंगलाई अंगभंग हुनबाट जोगाउनका अतिरिक्त ‘स्वस्थ दाँत, स्वच्छ मुख नै स्वस्थ जीवनको आधार हो’ भन्ने उक्तिलाई चरितार्थ पार्न दाँत एवं मुखको सरसफाइ, खानेकुरामा नियन्त्रण र नियमित रूपमा दन्त परीक्षणमा ध्यान पुर्‍याउनैपर्छ। 

(डेन्टल सर्जन डा बुढाथोकी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको उपचारात्मक सेवा महाशाखा, आँखा, नाक, कान, घाँटी तथा मुख स्वास्थ्य शाखाका प्रमुख हुन्) 

प्रतिकृया दिनुहोस

चिकित्सा शिक्षा सुधारका चुनौती

संसारको उत्कृष्ट विश्वविद्यालय कुन हो? अधिकांशको उत्तर आउँछ– हार्वर्ड। निजी भएर पनि उत्कृष्ट बन्न सफल भएको छ यो विश्वविद्यालय। हार्वर्ड

आयुर्वेदसम्बन्धी भ्रम र यथार्थ

नेपालीले प्राचीनकालदेखि नै आफ्नै गाउँ–घर वरिपरि पाइने जडीबुटीमा आधारित आयुर्वेद औषधिको उपयोगबाट स्वास्थ्य रक्षा गर्दै आएका छन्। लामो

दाँत माझ्नु मात्र मुख स्वास्थ्य होइन

अझै पनि धेरै मानिसलाई मुख स्वास्थ्यका बारेमा जानकारी छैन। दाँत सफा राख्नुपर्छ भन्ने जानेका मानिस पनि मुख स्वास्थ्यबारे अनभिज्ञ छन्। मुख स्वास्थ्य